शुक्रबार, बैशाख ४, २०८३

गाडी दुर्घटना र आगलागीबारे लमही नगरपालिकाको स्पष्टिकरण

देउखुरी । लमही नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको बा २ झ ४०२१ नम्बरको सवारी साधन सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका विभिन्न टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिका विषयमा आम नागरिकले चासो राख्नु स्वाभाविक भए पनि सत्य तथ्य नबुझी भ्रम सिर्जना हुने गरी अफवाह फैलाउनु उचित नभएको स्पष्ट पारेको छ ।

नगरपालिकाका अनुसार उक्त सवारी साधन २०८२ साल जेठ ९ गते लमही–घोराही सडकखण्डअन्तर्गत चौपथामा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गाडी मर्मतका लागि सिद्धि कम्पनी, घोराही लगिएको जनाइएको छ ।

सो समयमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा कार्यरत रहँदा उक्त गाडी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित अल.एटु.जेट. अटो वर्कसपमा पठाइएको थियो ।

नगरपालिकाले जानकारी दिएअनुसार दुर्घटनाग्रस्त सवारी साधन मर्मतका लागि बीमा कम्पनीबाट आर्थिक सहयोग हुने र आंशिक खर्च नगरपालिकाले व्यहोर्ने निर्णय भई मर्मत प्रक्रिया अघि बढाइएको थियो ।

तर मर्मतकै क्रममा २०८२ साल फागुन २४ गते राति करिब १२:०० बजे वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त गाडी सहित अन्य विभिन्न सवारी साधन, उपकरण तथा सामग्रीहरू जलेर नष्ट भएका थिए । आगलागीमा त्यहाँ रहेका गाडीका सिसा, गाडी धुने मेसिन, ग्राइन्डर, कम्प्रेसर, ड्रिल मेसिन, पेन्ट सामग्री, ब्याट्री, चेनफुली लगायतका सामग्रीमा क्षति पुगेको प्रहरी मुचुल्कामा जनाइएको छ ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन समेत पेश गरिसकेको नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले घटनाबारे अनावश्यक भ्रम र अफवाह नफैलाउन सम्पूर्ण नगरबासीमा अनुरोध गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation