देउखुरी । दाङको देउखुरी, मौरीघाटस्थित चैतन्य पाठशाला राप्ती उपत्यकामा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा एक भव्य तथा भावुक विदाई एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले विद्यालय परिसरलाई सम्झना, अनुभूति र भविष्यका सपनाले भरिपूर्ण बनाएको थियो ।
कार्यक्रम कक्षा ११ की छात्रा भावना शर्माको आत्मीय स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सभापतित्व कक्षा ११ का छात्र प्रशान्त रोका मगरले सम्हाल्नुभएको थियो । प्रमुख अतिथिका रूपमा विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्य तथा विशिष्ट अतिथिका रूपमा प्राचार्य सुषमा रेग्मी आचार्यको गरिमामय उपस्थिति रहेको थियो ।
साथै सहायक प्राचार्य बसन्तराज भट्टराईसहित विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रमको औपचारिक समुद्घाटन प्रबन्ध निर्देशक डा. आचार्यले गर्नुभएको थियो। त्यसपछि कक्षा १२ का छात्रा सुष्मा भण्डारी र सबिना पोख्रेलले आफ्नो दुई वर्षे शैक्षिक यात्राका अनुभवहरू भावनात्मक र प्रेरणादायी ढंगले प्रस्तुत गर्दै सबैलाई भावुक बनाएका थिए ।
शुभकामना मन्तव्य दिने क्रममा विज्ञान विभागका संयोजक चिरञ्जीवी पाण्डे, व्यवस्थापन विभागका संयोजक डम्बरबहादुर डाँगी, सहायक प्राचार्य बसन्तराज भट्टराई, प्राचार्य सुषमा रेग्मी आचार्य तथा प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई झन् जीवन्त र रमाइलो बनाएका थिए । अन्त्यमा विद्यालयका प्रबन्ध निर्देशक र प्राचार्यज्यूले कक्षा १२ का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उनीहरूको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम केवल विदाई मात्र नभई, सम्बन्ध, सम्झना र नयाँ सुरुवातको भावनात्मक संगमको रूपमा स्मरणीय बनेको सहभागीहरूको भनाइ रहेको छ ।











