गढवा २९ चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा एन्टी रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाभर वैशाख २, ३ र ४ गते अभियान तीव्र गतिमा सञ्चालन गरिने तयारी गरिएको छ ।
गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीका अनुसार कुकुरको संख्या व्यवस्थापन तथा रेबिजजस्तो घातक रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न लागिएको हो । “घरपालुवा र सामुदायिक कुकुर दुवैलाई लक्षित गरेर बन्ध्याकरण र एन्टी–रेबिज खोप अभियान सञ्चालन गर्न लागिएको हो, यसले दीर्घकालीन रूपमा स्वास्थ्य तथा वातावरणीय सुधारमा सहयोग पुर्याउनेछ,” उहांले भन्नुभयो ।
यसैबीच, ‘वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा रूपन्देही ’ संस्थाले गढवा गाउँपालिकासँग कुकुरहरूको बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । उक्त सहकार्यबाट अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभियानलाई जनस्वास्थ्य र वातावरणीय सन्तुलनसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिँदै सबै नागरिकलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । “कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण आजको आवश्यकता हो । यस अभियानले समुदायलाई सुरक्षित बनाउने मात्र होइन, मानवीय तरिकाले जनावर व्यवस्थापन गर्ने सन्देश पनि दिन्छ,” अध्यक्ष पोख्रेलले भन्नुभयो ।
अध्यक्ष पोख्रेलले अभियान सफल बनाउन स्थानीय बासिन्दा, टोल विकास संस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको समेत उल्लेख गर्नु भयो ।











