बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

१६ वर्षपछि अभिनयमा फर्किँदै विपना थापा

अभिनेत्री विपना थापा १६ वर्षपछि फिल्ममा कमब्याक गर्दैछिन् । उनले चन्द्र पन्तकाे निर्देशन रहने फिल्म ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गर्न लागेकी हुन् ।

फिल्ममा अनुबन्धित गराएको जानकारी दिँदै निर्देशक पन्तले भने, ‘उहाँले फिल्ममा काम गर्ने पक्का भइसक्यो । हामीले फोनमा कुराकानी गरेर उहाँलाई अनुबन्ध गराएका हौं । फिल्मलाई लिएर उहाँ पनि उत्साहित हुनुहन्छ ।’

फिल्ममा चार जनाको मुख्य भूमिका छ । त्यसमध्ये एक पात्रको रुपमा विपना थापालाई देख्न सकिन्छ । निर्देशक पन्तका अनुसार फिल्मको दुई चरणमा छायांकन हुनेछ । पहिलो चरणको छायांकन माघ १५ गतेदेखि भारतको रामोजी स्टुडियोबाट सुरु गर्ने तयारी छ । दोस्रो चरणको छायांकन नेपालमा हुनेछ ।

विपना पछिल्लो समय फिल्म ‘संघर्ष जिन्दगीको’ मा देखिएकी थिइन् । भारतका आशुतोष भारद्वजसँग विवाह गरेपछि उनी फिल्मबाट टाढिएकी हुन् । यसअघि ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन् ।

हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

सुनिल आफ्नो पछिल्लो फिल्म ‘पुष्पा’ बाट चर्चामा छन् । यो फिल्मले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो। त्यस्तै प्रदीपराजले ‘गजिनी’ को खलनायक भूमिकाबाट निकै चर्चा कमाएका थिए । अली दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार हुन् ।

नीता फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation