
कतार विश्वकपमा सहभागी ३२ टोलीमध्ये ११ टोली एसिया र अफ्रिकाका छन् । एसियाका ६ र अफ्रिकाका ५ टोलीले जारी विश्वकप खेलिरहेका छन् ।
तर यी दुवै महादेशका टोलीहरुलाई जित हात पार्न मुस्किल परिरहेको छ, बराबरीसमेत खेल्न सकेका छैनन् एसियाबाट कतार, दक्षिण कोरिया, इरान, जापान, साउदी अरब र अस्ट्रेलिया सहभागी छन् भने अफ्रिकाबाट क्यामरुन, घाना, सेनेगल, मोरक्को र ट्युनिसियाको सहभागिता रहेको छ ।
विश्वकप इतिहासमा एसियाली र अफ्रिकी टोली सेमिफाइनलसम्म पुगेको इतिहास छ, तर एकपटक मात्र । सन् २००२ मा आयोजित विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो । अफ्रिकी टोली भने क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेका छैनन् । जारी विश्वकपमा पनि यी दुवै महादेशका टोलीको सुरुवाती संकेत राम्रो देखिएको छैन ।
उद्घाटन खेलमा आइतबार इक्वेडरले घरेलु टोली कतारलाई २-० गोलले हरायो । सोमबार इङ्ल्यान्डले इरानलाई ६-२ गोलले पराजित गर्यो भने नेदरल्यान्ड्ससँग भएको खेलमा सेनेगल २-० गोलले पराजित भयो । अब यी दुई महादेशका दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, ट्युनिसिया, घाना, साउदी अरब, क्यामरुन र मोरक्कोले पहिलो खेल खेल्न बाँकी रहेको छ ।
मंगलबार साउदि अरबले अर्जेन्टिना, अस्ट्रेलियाले फ्रान्स र ट्युनिसियाले डेनमार्कको सामना गर्दै छ । चार वर्षअघि आयोजित विश्वकपमा एसिया र अफ्रिकाबाट जापानले मात्र पहिलो चरण पार गर्न सकेको थियो ।